खुशी राजकुमार | The Happy Prince
Translating Oscar Wilde into Nepali
I had read The Happy Prince before but I don’t remember when. My friend Anurag Upadhyaya wanted me to have a go at this text. Why not, said the heart of this learner-translator. What said the Happy Prince’s heart? Read and find out!
Source text here.
—
सहरको माथितिर एउटा अग्लो स्तम्भमा खुशी राजकुमारको मुर्ति ठडिएको थियो।
उसको शरीर सुनको पातलो पाताहरुले सजिएको थियो। उसँग आँखाकोलागि दुइटा टल्किने निलम थियो र एउटा ठुलो रातो मानक उसको तरवारको बिंडमा चम्किएको थियो।
उसलाई निकै नै प्रशंसा गरिन्थ्यो। “ऊ मौसम बताउने भालेजस्तै सुन्दर छ,” आफ्नो कलात्मक संवेदनाले प्रतिष्ठित हुने इच्छा भएको एकजना सहरको नेताले टिप्पणी गर्यो; “तर त्यस्तो फाइदाजनक छैन,” अरुले उसलाई अव्यवहारिक नासोचून (जुन ऊ साच्चिकै थिएन) भनेर उसले थप्यो।
“तिमी किन खुशी राजकुमारजस्तो हुन सक्दैनौ?” आकाशको जून माग्दै कराइरहेको छोरालाई उसकी बुझक्की आमाले सोधिन्। “खुशी राजकुमार कुनै पनि कुराकोलागि सपनमा पनि रुदैन।”
“संसारमा कोहि त यति खुशी छ भनेर आनन्द लाग्छ मलाई,” एउटा निराश व्यक्तिले त्यो सुन्दर मुर्ति हेर्दै भन्यो।
“ऊ देवदूत जस्तै देखिन्छ,” उज्यालो रातो ओढ्नी र सफा सेतो ड्रेस लगाएर क्याथेड्रलबाट निस्किरहेका बालबालिकाहरुले भने।
“तिमीहरुलाई कसरी थाहा भयो?” गणित मास्टरले भन्यो, “तिमीहरुले कहिल्यै देखेकै छैनौ।”
“छौँ नि! सपनामा,” बालबालिकाले उत्तर दिए। गणित मास्टरले निधार खुम्च्याउदै निकै गम्भीर देखियो। बालबालिकाहरुको सपनी देख्नुमा उसको सहमति थिएन।
एक रात सहरमाथि एउटा सानो गौंथली उड्यो। ऊ र उसका साथीहरु छ हप्ता पहिले इजिप्ट गएका थिए। तर ऊ भने फर्किसकेको थिएन किनकी ऊ सबैभन्दा सुन्दर नर्कटको मायामा फसेको थियो। गौंथलीले उसलाई वसन्तको सुरुवातमा एउटा पहेँलो पुतली पछिपछि खोलातिर झर्दै गर्दा भेटेको थियो। नर्कटको पातलो शरीरसंग ऊ यति आकर्षित भएको थियो कि उसँग कुरा गर्न भनेर रोकिएको थियो।
“के म तिमीलाई माया गर्न सक्छु?” सिधा कुरा गर्न मन पराउने गौंथलीले सोध्यो। नर्कटले शिर झुकाइ। अनि गौंथली उसको वरिपरि आफ्नो पखेटाले पानी छुँदै रजत छालहरु बनाउदै घुम्यो। यो उसको प्रेमालाप थियो र यो पुरै ग्रीष्मभरी जारी रह्यो।
“यो कामै नलाग्ने आकर्षण हो,” अरु गौंथलीहरु चिर्बिराए, “उसँग पैसा भने छैन अनि निकै धेरै आफन्तहरु छन्।” साच्चै खोला अरु नर्कटहरुले भरिएको थियो।
त्यसपछि शरद ऋतु आयो र उनीहरु सब उडेर गए।
उनीहरु गएपछि गौंथली एक्लो महसुस गर्यो र आफ्नो प्रेमिकाबाट पनि थाक्न थाल्यो। “उसको गफ नै सिद्दियो,” उसले भन्यो। “र मलाई लाग्छ ऊ निकै नटखट छे, सधैँ बताससँग जिस्किदै बस्छे।” साच्चै जब-जब बतास बग्थ्यो नर्कटले बतासलाई सोभायमान स्वागत गर्थी।
“म मान्छु ऊ पारिवारिक स्वभावकी छे,” उसले भन्यो। “तर मलाई घुम्न मनपर्छ, त्यसैले मेरी श्रीमतीलाई पनि घुम्न मन पर्नुपर्छ।”
“तिमी मसंग आउँछ्यौ?” उसले अन्तिममा सोध्यो तर नर्कटले टाउको हल्लाइ। नर्कटलाई आफ्नै घरको माया थियो।
“तिमी मसँग खेल खेलिरा’की छ्यौ,” ऊ करायो। “म पिरामिडतिर गए। अलविदा!” र ऊ उडेर गयो।
पुरै दिन ऊ उडिरह्यो र रातिको समयमा सहर आइपुग्यो। “म कहाँ रोकूँ?” उसले भन्यो। “यो सहरले केहि तयारी गरेको होला नि।”
अनि उसले अग्लो स्तम्भमा मुर्ति देख्यो। “म यतै रोकिन्छु,” ऊ करायो। “निकै राम्रो ठाउँ छ र टन्नै हावापनि आउँदो रहेछ।” ऊ खुशी राजकुमारको खुट्टानजिकै ओर्लियो।
“मसँग सुनौलो शयनकक्ष छ,” उसले वरिपरि हेर्दै सानो स्वरमा आफैसंग भन्यो र सुत्ने तरखर गर्न थाल्यो। तर जब आफ्नो टाउको पखेटामुनि राख्न थालेको थियो एउटा ठुलो थोपा पानी उसमाथि पर्यो। “कस्तो अचम्म!” ऊ करायो, “आकाशमा एउटा पनि बादल छैन, ताराहरु सफा र उज्याला छन्, तर पानी पनि परिरहेको छ। उत्तरी युरोपतिर कस्तो अनौठो मौसम रहेछ।”
उसले माथि हेर्यो – राजकुमारको आँखामा पानी परिरहेको थियो। “तिमी किन रोइरहेको प्रिय राजकुमार?” उसले सोध्यो।
“म आफ्नोलागि रोएको होइन,” उसले जवाफ दियो, “सहरकोलागि हो। जाउ सानो गौंथली, सहरमाथि उड र त्यहाँ के-के देख्छौ मलाई भन।”
अनि गौंथली ठुलो सहरमाथि उड्यो। उसले धनीहरु सुन्दर घरहरुमा रमाइरहेको र तिनीहरुको गेटमा भिखारीहरु बसिरहेको देख्यो।
ऊ अँध्यारो गल्लीहरुभित्र उड्यो र भोका बालबालिकाहरु सेता अनुहार लिएर एकोहोरो कालो गल्लीतिर हेरिरहेको देख्यो।
एउटा पुलको तोरणमुनि दुई साना केटाहरु आँफुलाई न्यानो राख्न एकअर्काको काँधमा सुतिरहेको देख्यो।
“कति भोका छौँ हामी!” उनीहरुले भने।
“तिमीहरु यहाँ सुत्न मिल्दैन,” गार्डले भन्यो र उनीहरु पानीमा भौतारिदै गए।
त्यसपछि ऊ उडेर फिर्ता गयो र राजकुमारलाई आफूँले देखेको कुरा सुनायो।
“म पुरै सुनै सुनले ढाकिएको छु,” राजकुमारले भन्यो, “तिमीले पत्र-पत्र सुन निकालेर मेरा गरिबहरुलाई दिनु पर्नेछ। मानिसले सधैं सुनले खुशी बनाउँछ भनी सोच्छन्।”
खुशी राजकुमार फुस्रो र खरानी रंगको नदेख्दासम्म पत्र पछि पत्र गर्दै गौंथलीले सुन टिपेर लग्यो।
पत्र पछि पत्र सुन उसले गरिबहरुलाई लिएरआयो र बालबालिकाको मुहार गुलाबी हुन लाग्यो। उनीहरु हाँस्दै बाटोमा खेल खेल्न लागे। “हामीसँग रोटि हुन्छ अब!” उनीहरु कराए।
त्यसपछि हिउँ आयो अनि हिउँपछि तुसारो र बरफ। बाटाघाटाहरु चाँदीले बनेको जस्तो देखिएका थिए। तिनीहरु निकै उज्यालो र चम्किला थिए। क्रिस्टलजस्तो लामो बरफ घरको छतबाट झुन्डिएको थियो, सबैजना भुवादार कपडा लगाएका थिए, साना केटाहरु रातो टोपी लगाएर बरफमा स्केट गरिरहेका थिए।
बिचरा सानो गौंथलीलाई झनभन्दा झन चिसो लागिरहेको थियो तर उसले राजकुमारलाई छोडेन। ऊ राजकुमारलाई निकै नै माया गर्थ्यो।
बेकरले नहेर्दा गौंथलीले उसको ढोका बाहिरको रोटिका टुक्राहरु टिप्थ्यो र आफुलाई न्यानो राख्न आफ्नो पखेटा फट्फटाउथ्यो।
तर आखिरमा उसलाई आफुँ मर्न लागेको थाहा भयो। उसँग राजकुमारको कुमसम्म अन्तिम पटक उढ्नसक्ने जति मात्र तागत थियो।
“अलविदा, प्रिय राजकुमार!” उसले बडबडायो। “के तिमीले मलाई तिम्रो हात चुम्न दिन्छौ?”
“म खुशी छु कि तिमी यति पछि इजिप्ट जान लाग्यो, सानो गौंथली,” राजकुमारले भन्यो। “तिमी यहाँ निकै समय बस्यौ। तर तिमीले मलाई मेरो ओठमा चुम्नुपर्नेछ किनभने म तिमीलाई माया गर्छु।”
“म इजिप्टतिर जान लागेको हैन,” गौंथलीले भन्यो। “म मृत्युको घर जान लागेको। मृत्यु निद्राको दाजु हो, हैन र?”
र उसले खुशी राजकुमारलाई ओठमा चुम्यो र उसको पैतालामा प्राण त्यागेर लड्यो।
ठिक त्यहि समय केहि टुक्रिएजस्तै मुर्तिभित्रबाट अचम्मको आवाज आयो। तथ्य के थियो भने उसको सिसाको मुटु फुटेर ठिक दुई टुक्रा भएको थियो। साच्चै नै निकै कडा बरफ जमेको थियो।
भोलिपल्ट बिहानै मेयर साब सहरको नेताहरुसंग तलको चोकमा घुम्दै थिए।
उनीहरु राजकुमारको स्तम्भ नजिक हिड्दै गर्दा माथि मुर्तितिर हेरे: “ओहो! कस्तो दरिद्र देखिएको खुशी राजकुमार!” उसले भने।
“हो नि, कस्तो दरिद्र!” सधै होमा हो मिलाउने सहरका नेताहरु कराए र हेर्नकालागि सबैजना माथि गए।
“उसको तरवारबाट मानक खसेछ, उसको आखाँ नै छैन र ऊ सुनौलो रहेन,” मेयरले भन्यो। “भन्नैपर्दा ऊ एक भिखारीभन्दा अलिकति मात्र राम्रो छ।”
“भिखारीभन्दा अलिकति मात्र राम्रो,” सहरका नेताहरुले भने।
“र यहाँ उसको खुट्टामा एउटा मरेको चरा छ।” मेयरले भन्यो।
“यहाँ कुनै पनि चरा मर्न पाउँदैन भनि एउटा नोटिस जारी गर्नु नै पर्छ।” सहरको कर्मचारीले सुझावको टिपोट गर्यो।
उनीहरुले खुशी राजकुमारको मुर्ति निकाले। “ऊ अब सुन्दर नरहेपछि ऊ कामलाग्दो नि रहेन,” विश्वविद्यालयको कला प्राध्यापकले भने।
त्यसपछि उनीहरुले आगोको भट्टीमा मुर्ति पगाले र धातुसंग के गर्ने भनी निर्णय लिन मेयर निगमसंग बैठक बसे।
“अर्को मुर्ति त हामीलाई चाहिन्छ नै,” उसले भन्यो, “र त्यो हुनेछ मेरो आफ्नै मुर्ति।”
“मेरो आफ्नै मुर्ति,” सहरका हरेक नेताहरुले भने र उनीहरु झगडा गरे। जब मैले उनीहरुको बारे अन्तिम पटक सुनेको थिए उनीहरु अझै झगडा गरिरहेका थिए।
“कस्तो अचम्म!” फ्याक्ट्रीका कामदारहरुको प्रबन्धकले भन्यो। “यो टुटेको सिसाको मुटु भट्टीमा पग्लिदैन। यसलाई हामीले फाल्दिनुपर्छ।”
र तिनीहरुले त्यसलाई धुलोको थुप्रोमा फाले। त्यहाँ प्राण त्यागेको गौंथली पनि थियो।
“मलाई सहरको सबैभन्दा अमूल्य दुइवटा चीज लिएर आउ,” भगवानले आफ्ना दुतहरुलाई भने। एउटा दुतले सिसाको मुटु र मृत चरा लिएर आयो।
“तिमीले सहि चुन्यौ,” भगवानले भने। “स्वर्गको मेरो बगैंचामा यो सानो चराले अनन्तसम्म गीत गाउनेछ र मेरो सुनौलो सहरमा खुशी राजकुमारले मेरो स्तुति गर्नेछ।”
—


